कतार टु टर्की

झन्डै ८ वर्ष खाडीमा बिताएका प्रभाकर सिग्देल केही पैसा कमाए पछि देशमै काम गर्ने सपना लिएर घर फर्किए  । बर्दिया राजापुर– ५, जयपुरका यी २९ वर्षीय युवा सुरुमा आफ्नै गाउँमा थोक किराना पसल खोल्न चाहन्थे ।

पैसा अपुग भयो । अरू कुनै काम गर्न सकिन्छ कि भनेर उनले खोज्न थाले। युट्युब, फेसबुक, गुगलबाट नयाँ–नयाँ व्यवसाय खोजे। अन्ततः अनलाइन हेरेकै भरमा टर्की पाल्ने निधो गरे ।

उनी नेपाल फर्केको केही महिनामै प्रभु टर्की फार्म दर्ता गरे । पाल्पाबाट २ सय ५० टर्कीका चल्ला ल्याए । गएको साउनबाटै व्यावसायिक पालन पनि थाले । उनले फार्ममा अहिलेसम्म १२ लाख ५० हजार लगानी गरिसकेका छन् । चैत अन्तिम सातासम्म उनले ९ लाख बराबरको मासु र चल्ला बेचिसकेका छन् । त्यसमा झन्डै ४ लाख बराबरको नाफा पनि कमाएको सुनाउँछन् । अब भने उनी ७ सय टर्कीका चल्लासँगै बाख्रा, माछा, भैंसीपालन पनि थप गर्ने तयारीमा छन्। यसका अलावा उनले व्यावसायिक तरकारी खेती पनि थाल्दै छन्। अहिलेसम्म उनले राज्यबाट कुनै सुविधा वा अनुदान पाएका छैनन् । राज्यले पनि केही लगानी गरिदियोस् भन्ने चाहना भने छ । उनी भन्छन्, ‘स्वदेशमै केही गर्ने युवालाई राज्यले उपेक्षा होइन सहयोग गर्नुपर्ने देखिन्छ ।’

उनको फार्ममा बाँके, बर्दिया, कैलालीबाट पनि टर्की पालनबारे जानकारी लिन किसानहरू आउने गरेका छन् । दैनिक झन्डै ३० जना बढी किसान फार्म अवलोकनका लागि आउने गरेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘आफूले जानेको सिकाउन गाह्रो त लाग्दैन, कहिलेकाहीं काममा व्यस्त भएका बेला भने अलिअलि झर्को लाग्छ ।’ उनले पालेको टर्की अहिले नेपालगन्ज, कोहलपुर, टीकापुर, दाङ, नारायणघाटलगायत बजार पुग्ने गरेको छ । भरखर मात्र उनको फार्मबाट जुम्लाका एक व्यवसायीले ५ सय केजी जिउँदो टर्की लगेका छन् । टर्की विशेषगरी मासुका लागि प्रयोग गरिन्छ । उनले फर्मबाटै भाले टर्कीलाई प्रतिकेजी ७ सय र पोथीलाई ५ सय रुपैयाँमा बेच्ने गरेका छन् । उनी जिउँदो टर्कीमात्र बेच्छन्। उनले पालेका टर्की १० देखि १५ किलोसम्मका हुन्छन् । टर्कीका अन्डा भने प्रतिगोटा १ सय ५० मा बिक्री भइरहेको उनले सुनाए ।

उनी १९ वर्षको हुँदा कतार गएका थिए । सेल्सम्यान भएर काम गरे । २ वर्ष बसेपछि नेपाल फर्केर १२ पास गरे। बीएको पहिलो वर्षको परीक्षापछि पुनः कतार हान्निए । यसबेला भने उनले १८ चक्के हेबी ट्रक चलाए, झन्डै ६ वर्ष । उनको मन त्यहाँ अडिएन, गाउँ–घरतिरै मन डुल्न थाल्यो । अनि फर्कने निधो गरे । पैसा पनि केही जम्मा गरिसकेका थिए । दोस्रोपटक कतार गएर फर्कने बेला उनी महिनाको ४ हजार रियाल (१ लाख २० हजार) कमाउँथे । तैपनि त्यहाँ बस्न चाहेनन् । आफ्नै देशमा केही व्यवसाय गरौं भन्ने लागिरह्यो। उनी भन्छन्, ‘कतारजस्तो गर्मीमा ज्यानलाई जोखिममा राखेर अरूका लागि पसिना बगाउनुभन्दा आफ्नै मातृभूमिमा गुन्द्रुक–भात खाएर बाँच्दा खुसी लाग्दो रहेछ ।’ विदेश जाने चाहने युवालाई सानै लगानीमा भए पनि आफ्नै गाउँ–ठाउँमा कुनै व्यवसाय गर्न उनी सुझाउँछन् । आफ्नै देशमा फर्किएर उद्यम गरेको देखेपछि उनका बाबु पनि दंग छन् । ‘छोरोले आफ्नै आँखा अघि व्यवसाय गर्दा अहिले निकै खुसी छु,’ प्रभाकरका बाबु ज्ञानेन्द्र भन्छन्, ‘कतारको गर्मी, विदेशको दुःख भन्दा यहाँकै दुःख प्यारो लागेको छ ।’

कमेन्ट गर्नुहोस्
Loading...