खेल्नु अपराध होइन, यो मैले गुम्बा पुगेर थाहा पाएँ

हिजोआज हाम्रो समाजमा पनि आधुनिकताले जरा गाडेको छ। विदेशी चीज वस्तुको प्रभाव परेको छ। जबसम्म हामी आफ्नो पहिचान, संस्कृति भुलेर विदेशी को नक्कल गर्छौ तबसम्म पछाडि पर्छौं।

मेरो जन्म काठमाडौंको बौद्धस्थित मध्यम वर्गीय परिवारमा भएको हो। नौ वर्षको उमेरसम्म म घरकै काममा व्यस्त रहेँ। त्यसपछि मात्र स्कुल जाने मौका मिल्यो। मेरो दिमाग भने तुलनात्मक रूपमा अरूभन्दा तीक्ष्ण रहेछ। मेरा बुवा मूर्तिकार हुनुहुन्थ्यो। उहाँलाई ढलोटका मूर्ति निर्माण गर्न आमाले पनि सहयोग गर्नुहुन्थ्यो। बुवा छिनभरमै रसाउनुहुन्थ्यो। ज्यादै रक्सी पिएर हामीलाई कुटपिट र हिंसात्मक व्यवहार गर्नुहुन्थ्यो। यस कुराको प्रभावले रिस ममा क्रोधको मात्रा ज्यादा थियो।

मैले कक्षा ३ सम्म बौद्ध प्रिप्राइमरी स्कुलमा पढेँ। त्यसपछि दोर्जे स्कुलमा। त्यहाँ मलाई कक्षा २ मा मात्रै भर्ना गरियो। तर मैले त्रैमासिक परीक्षामै राम्रो नतिजा ल्याएकाले एकैपटक ४ कक्षामा भर्ना गरियो। कक्षा ५ पूरा गरेपछि म शिवपुरीस्थित नागी गुम्बामा गएँ। त्यसबेला म १३ वर्षकी थिएँ। त्यहाँ आध्यात्मिक शिक्षा दिइन्थ्यो। त्यहाँ मैरो दैनिकी बदलियो। घरमा भने बिहान सबेरैदेखि कामधन्दामा लाग्नु पथ्र्यो। चिया, भात पकाउने, सरसफाइ गर्ने र भाइहरूको हेरचाहमै समय बित्थ्यो।

गुम्बामा मैले पहिलोपटक आफू बच्चा भएको महसुस गरेँ। गुरु टुल्कु उर्गेन रिम्पोचेको करुणामय व्यवहारबाट खेल्नु अपराध होइन रहेछ भन्ने थाहा पाएँ। मीठो खान पाएँ। अब हप्ताभरका मैला कपडाको पोको बोकेर धुन निस्कनु परेन।

आफ्ना मात्रै कपडा धोए पुग्ने भयो। हामी सानो छँदा भिडियो हेर्न मरिहत्ते गथ्र्यौं। यही निहुँमा धेरै पटक पिटाइ खानु पथ्र्यो। हामी पैसा नहुँदा पर्खाल नाघेर हलमा छिथ्यौं। साहुले कति पटक समातेर बाहिर निकाल्थे।

बुवाकै कारण घरको वातावरण राम्रो थिएन। आमाको दुःखी जीवन देखेर म दिक्क हुन्थेँ। बिहे गर्दा दुःख हुन्छ भन्ने ममा पर्दै गयो। बुवाले कुन दिन जबर्जस्ती बिहे गरिदिनुहुन्छ भन्ने त्रास ममा बढ्न थाल्यो। यस्तैमा एक दिन आमाले अचानक ‘तिमीलाई मन पर्दैन भने बिहे नगर्दा हुन्छ नि’ भन्नुभयो। त्यसदिन म धेरै खुसी भएँ। यसले मलाई आनी बन्न छुट दियो। त्यसबेला ममा धर्मप्रतिको आस्थाभन्दा बिहेबाट छुट्कारा पाउन मन थियो।

गुम्बामा गुरुको बोली, करुणामय व्यवहार र त्यहाँको वातावरणले मलाई स्वतस्फूर्त रूपमा छोयो। त्यहाँ पूजा सिक्नु पथ्र्यो। पाठ कण्ठ गर्नुपथ्र्यो। म २५ वर्षकी हुँदा गुरुको देहावसान भयो। त्यसपछि म घरमै आएर बुवाआमाको सेवामा लागेँ। त्यसबेलासम्ममा म भित्रको घाउ निको भइसकेको थियो। गुरुबाट मैलै हरेक कुरालाई फरक ढंगबाट हेर्न सिकेकी थिएँ।

मैले बुवालाई हेर्ने दृष्टिकोणमा पनि बदलाव आयो। हामी थुप्रै गुण बिर्सिएर एउटा दुर्गुणका पछाडि दौडिँदा रहेछौं भन्ने थाहा पाएँ। बुवाका गुणहरू केलाउन र समस्या खोतल्न थालेँ। त्यसपछि बुवाप्रति माया जाग्न थाल्यो। बुवाको मप्रतिको व्यवहार पनि फरक हुँदै गयो। विस्तारै म बुवाकी आमा जस्ती भएँ। बुवाले अन्तिम सास फेर्ने बेलामा मलाई भन्नुभयो, ‘म भाग्यमानी रहेछु। मैले आमा जस्ती छोरी पाएँ।’ यो कुराले म औधी खुसी भएँ।

मेरा गुरुका एक विदेशी शिष्यले मैले गुम्बामा गाएका प्रार्थना रेकर्ड गरी लगेका रहेछन्। अमेरिकामा उनले आफ्नो म्युजिकमा मिक्सअप गरी त्यसलाई रेकर्ड कम्पनीहरूमा पठाएछन्। यसका लागि उनले मसँग पनि अनुमति मागेँ। मैले गुरुलाई सुनाएँ। उहाँले खुसी हुँदै ‘तिमीले गाएका गीत जुनसुकै धर्म मान्ने वा नमान्नेले सुने पनि तिनीहरूको कल्याण हुनेछ’ भन्दै हौसला दिनुभयो। त्यसपछि त्यो रेकर्ड भयो। मैले एकै पटक दुई हजार अमेरिकी डलर प्राप्त गरेँ। एक हजार गुरुलाई चढाएँ। यसबेलासम्म ममा गायिका बन्छु र यसबाट पैसा आर्जन हुन्छ भन्ने ज्ञान थिएन।

ममा गीत संगीतमा सामान्य रहर मात्रै थियो। आनी बनिसकेका मान्छेले गायिका बन्न सकिन्छ भन्ने थिएन। गीत सन् १९९७ मा संसारभर रिलिज भएछ। ठूलाठूला मिडियामा प्रसारण भएछ। मलाई यसबारे कही थाहा थिएन।

म सानैदेखि बाटामा भेटिएका दीनदुःखीको सेवा गर्न रुचाउचेँ। उनीहरूलाई घरमै ल्याएर खान दिन्थेँ। यो देखेर कुरा बुवाआमाले ‘छोरी मान्छेले यस्तो गर्न हुन्न, रोग सर्छ’ आदि भनेर सम्झाउनुहुन्थ्यो। तर म भने अझ सेवामा लाग्न र त्यसलाई संस्थागत गर्ने कुरा सोचिरहन्थेँ।

त्यसपछि अमेरिकाबाट कन्सर्टका लागि निम्ता आउन थाल्यो। दुई जना आनीका साथ म अमेरिका पुगेँ। गएको एक महिनामै २२ सहरमा लाइभ कन्सर्ट भए। जीवनमा कहिल्यै नसोचेको पैसा भेला भयो। पहिलो पटकमै करिब २० हजार डलर लिएर आएँ। अब मलाई आँट आयो। म पढ्न नपाएका छोरीलाई पढाउन चाहन्थेँ। संस्था दर्ता गरेर घरमै काम सुरु गरेँ। अब पैसा कमाउन सक्छु भन्ने आँट पनि पलाउँदै थियो। गायिका बन्ने भन्दा पैसा कमाउने सपना पूरा गर्नमा केन्द्रित भएँ।

त्यसपछि भने वर्षमै पाँच, छ पटक बिदेसिन थालेँ। सामाखुसीमा एउटा घर भाडामा लिएर केही बच्चा पढाउन थालेँ। हाल फर्पिङमा विद्यालय चलाएकी छु। यसमा नेतृत्व पहिलो ब्याचकी विद्यार्थीले लिनु भएको छ। अहिले मेरो विद्यालयमा एक सय र अन्य दुई सय मेरो प्रत्यक्ष सहयोगमा गरी तीन सय विद्यार्थी पढिरहेका छन्। कोही डाक्टर पनि भए। कसैले वनारसबाट आचार्य गरिसके।

म गायक बन्छु भन्ने योजना थिएन। नेपाली गीत यति हिट हुन्छन् भन्ने पनि थिएन। गुम्बामा बस्दा सिकेको सीप नै विदेशीले पनि मन पराइदिएका हुन्। यसैबाट नेपालमा भन्दा अघि विदेशमा चिनिएँ। ‘फूलको आँखामा’ बोलको गीतले अझ स्थापित गरायो। मैले व्यक्तिगत चर्चालाई कहिल्यै महŒव दिइनँ। आमाको निधन पछि किड्नी उपचाररत बिरामीलाई सहयोग गर्न चारवटा डाइलाइसेस केन्द्र सञ्चालन गरेकी छु।

हिजोआज हाम्रो समाजमा पनि आधुनिकताले जरा गाडेको छ। विदेशी चीज वस्तुको प्रभाव परेको छ। जबसम्म हामी आफ्नो पहिचान, संस्कृति भुलेर विदेशी को नक्कल गर्छौ तबसम्म पछाडि नै रहन्छौंं। हाम्रा परम्परागत संस्कार संस्कृति त्यत्तिकै आएका होइनन्। त्यसमा सिक्नुपर्ने कुरा धेरै छन्। ती धेरैजसो वैज्ञानिक छन्। हामी सधैं असल चरित्र निर्माण गर्न अघि सर्नुपर्छ। नयाँनयाँ कुरा सिक्नुपर्छ तर आफ्नोपन भने बिर्सिनु हुँदैन। छोराछोरीबीचको विभेद अन्त्य गर्नु अघि सर्नुपर्छ। सफलता हात पार्ने दौडमा कसैलाई असजिलो पार्नु हुन्न। जो कसैसँग पनि क्षमा माग्न सिक्नु पर्छ। क्षमाले कहिल्यै सानो भइँदैन। हामीले आफ्ना काम व्यवहारको समेत बेला, मौका विवेचना गर्न जरुरी छ।

(गायिका डोल्मासँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)

कमेन्ट गर्नुहोस्
Loading...