दाइ कोमामा कतारमा, लेबनानबाट विक्षिप्त भै फर्केकी बहिनी घरमा (भिडियाेसहित)

झापा – भद्रपुर चोकबाट केही दक्षिणतर्फको महेशपुर । धान खेत र बस्ती बराबरी छ । प्रायः एक तले घर । तराईका अरु सामान्य बस्तीजस्तै छ यो बस्ती पनि । तर यही बस्तीको एक घरले वैदेशिक रोजगारीको असामान्य पीडा खेपेको छ ।

रातो रङको जस्ताले छाएको भुईँतले घर । ठूलो पिँढी । पिँढी र आँगनमा लामखुट्टे र भुसुना तछाडमछाड गर्दै थिए । पिँढीको एक कुनामा डस्ना पल्टाएर राखिएको खाटमा एउटा खुट्टा खुम्च्याएर अनि अर्को चाहिँ एकोहोरो हल्लाएर टोलाइरहेकी छन् एक युवती ।

छोटो बनाएर काटेको कपाल । गुलाबी रङको कुर्ता र सुरुवाल । सुरुवाल घुँडाभन्दा माथिसम्मै खुम्चिएको देखिन्छ । पसिनामा धुलो टाँसिएर गोरो अनुहारमा खैरा लेग्रा परेका छन् । युवती टाउको र आँखीभाैँ थोरै तानेर एकोहोरो तालमा एकातिर हेर्छिन् र खुट्टा हल्लाइरहन्छिन् ।

लेबनानबाट फर्केपछि उनले बोल्न लगभग बिर्सेकी छिन् । उहाँ सितिमिति बोल्नुहुन्न । तर उहाँलाई गाउँका सबैले बोलाउने नाम हो टीका नेम्वाङ लिम्बू । उमेरले लगभग ३० वर्षकी देखिनुहुन्छ ।

उमेर ठ्याक्कै बताउन सक्ने आमाबुवाले संसार छाडिसके । टीकालाई त याद होला आफ्नो उमेर । तर उमेर बताउनु त परको कुरा उहाँ कसैसँग नबोलेको पनि लगभग एक दशक टेक्न लाग्यो ।

 

 

घरमा पुगेका नयाँ मानिस हामीलाई एकछिन आँखा तरेर हेर्नुभयो । त्यसपछि आफ्नै तालमा खुट्टा हल्लाएर टोलाइरहनुभयो । टीकाको हाउभाउ देख्दा लाग्यो, उहाँलाई आँखा अगाडिका कुनै पनि कुराको वास्तै छैन ।

रोजगारीका लागि लेबनानबाट गएकी टीका नेपाल फर्किँदा मानसिक रुपमा विक्षिप्त भएर फर्किनुभयो । विक्षिप्तताको कारण टीकालाई मात्र थाहा छ, तर बोल्नै नमानेपछि अरुले कारण थाहा पाउन सकेका छैनन् ।

दाइ श्रीबहादुर नेम्वाङ कतारमा काम गर्दा ११ वर्षअघि दुर्घटनामा परेर कोमामा पुगेपछि घरका बाआमालाई लागेको ऋण तिर्न टीका लेबनान जानुभएको थियो ।

दाइको ऋण तिर्न परदेश
सन् २००८ को एक दिन कतारमा श्रीबहादुर दुर्घटनामा परेको खबर आयो । दुर्घटनामा परेर श्रीबहादुर कोमाको अवस्थामा पुगें । कमाएर ल्याउँछ भनेर परदेशिएको छोरो नै ढलेको खबर सुन्दा परिवारमा एकाएक बज्रपात आइलाग्यो ।

छोरालाई कतार पठाउन लिएको ऋण तिर्ने उपाय एकाएक सकिएपछि साहुको ऋण घढाउन आमाले टीकालाई लेबनान पठाइन् ।

भारतको बाटो हुँदै घरेलु काममा लेबनान पुगेकी टीकाले के कति कमाउनुभयो, घरमा कति पठाउनुभयो आफन्तलाई थाहा छैन । टीका परदेशमा रहेकै अवस्थामा एक वर्षको बीचमा बुवाआमा दुवैलाई ६ महिनाको अन्तरमा कालले टिपेर लग्यो ।

दाइले लिएको ऋण तिर्न विदेश पठाउने आमा र बाको मृत्युपछि ऋण तिर्ने र बाआमालाई खुशी देख्ने टीकाका सपना चोइटिए ।

बाआमा बितेको एक वर्षपछि विदेशबाट टीका फर्किने खबर आयो । बहिनी भावना र काकाकी छोरी माया टीका फर्किने भनिएका दिन झापाबाट काठमाण्डौ आएर विमानस्थलको आगमन कक्षमा टीकालाई पर्खेर बसे । कहाँकहाँबाट मानिस आए, आफ्ना मानिस कुर्नेको भिड बिस्तारै घट्दै गयो । तर माया र भावना टीका नआएपछि निराश भए ।

भावना र मायाले सोचे – ‘आउँछु भनेर ढाँटिन् ।’

निराश भएर घर फर्किए । तर माया र भावना घर पुग्दा टीका घरमा पुगिसकेको देखेर दुवै छक्क र दङ्ग परे ।

‘हामी त एकछिन त छक्कै पर्‍यौँ, हामीलाई लिन आइज भनेर यो मान्छे किन यसरी छाडेर आयो होला जस्तो लाग्यो’, टीकाकी बहिनी भावना सुनाउनुहुन्छ । तर त्यो बेला टीकाको मानसिक अवस्था बिग्रिएको होला भन्ने शंका कसैको थिएन ।

टीका परदेशमै भएका बेला बाआमा बितेकाले आफ्नो संस्कारअनुसार घर फर्किएपछि चोख्याउने (बुवाआमाको मृत्युपछि गरिने कर्म) काम भयो । आएकै दिन टीकालाई घरमा बस्न दिइएन । छिमेकीको घरमा राखेर चोख्याएपछि घरमा ल्याइयो ।

विदेशबाट दुई वर्षपछि फर्किएकी टीकालाई भेट्न उहाँका साथीसँगी, गाउँले र आफन्त पनि जम्मा भए । धेरै मानिस देखेपछि टीका एकाएक बर्बराउन थाल्नुभयो ।

‘तिमीहरु सबैजना बस, खुकुरी ल्याओ, हरियो पत्तामा राखेर सबै जनालाई काट्छु भन्दै उफ्रिन थाल्यो मान्छे त’, काकी आमा शुकरानी टीकाले गरेको व्यवहार सुनाउनुहुन्छ, ‘मान्छे त के भएर आएछ आएछ, बाफरे बाफ त्यसपछि त के के भन्ने भन्ने नि !’ बल्ल पो परिवारले टीकाको अवस्था ठिक छैन पत्तो पाए ।

काकी शुकरानीले फकाएर सोध्ने कोसिस गर्नुभयो । कतिपटक गाली गरेर सोध्नुभयो । तर जुन तरिका अपनाए पनि टीकाले कहिल्यै दोहोरो कुरा गर्नुभएन ।

‘एक दिन चाहिँ उसको मनमा के लाग्यो कुन्नि, मलाई विदेशमा टाउकोमा कुटेको भन्यो, अनि मैले किन त भनेर सोध्दा मलाई कति कुटे, म त रोइरोइ बसेको नि भन्यो’, शकरानी अड्कल काट्नुहुन्छ, ‘आमाबा बितेपछि रोएर बस्यो होला, काम गर्न बिर्सियो कि, अनि कुटेर पो हो कि यस्तो भएको ?’ चिनजानका र देख्नेहरु आफूअनुसारका अड्कल लगाउँछन् । तर के कारणले टीकाको अवस्था बिग्रियो कसैलाई थाहा छैन ।

भएन उपचार
टीकाको अवस्था देखेर कतिले भने, मोहनी लागेको छ । मोहनी छुटाउन भन्दै धामीझाँक्री पनि लगाइयो । उपचारका लागि एकपटक मेची अस्पताल र एकपटक धरानमा लगियो ।

तर परिवारका सदस्यहरुले अस्पतालको उपचारलाई भन्दा धामीको झारफुकलाई बढी विश्वास गरे । यता टीकाको मानसिक अवस्था भने झन् झन् बिग्रँदै गयो ।

‘पहिले पहिले त अलिअलि बोल्थी, पछिपछि त बोल्न पनि छाडी, चुपचाप बस्छे, खुट्टा हल्लाउँछे, रातभरि सुत्दिन’, काकीआमा शुकरानी भन्नुहुन्छ । केही समय त खाना खुवाइदिनु पर्ने, दिसापिसाव गराउन चर्पीसम्म पनि लग्नुपर्ने अवस्था भयो टीकाको ।

अहिले भने अलि सुधार भएको छ । पस्केर दिएको खाना आफै खानुहुन्छ । दिएको लुगासम्म लगाउनु हुन्छ । कहीँ कतै जानुहुन्न । दिनभरि, रातभरि एकै ठाउँमा बस्नुहुन्छ ।

हिजोआज टीकाको रेखदेख काकी आमा शुकरानीले गर्नुभएको छ । पहिले बहिनी भावनाले नै दिदीको हेरचाह गर्नुभएको थियो । आफु सुत्केरी भएपछि दिदीलाई काकीआमाकोमा पठाएको भावना बताउनुहुन्छ ।

यो वर्षा टीकाको शरीरभरि घाउ आयो । तर औषधि खान र लगाउन मान्नुभएन । गाली गर्दै शुकरानीले टीकालाई औषधि लगाइदिनुभयो । काकीको गालीलाई वर्षौंपछि टीकाले प्रतिवाद गर्नुभयो ।

‘दबाइ लगाउ भन्दा पनि मान्दैन, खाउ भन्दा पनि मान्दैन, यो लाटी बोल्दा पनि बोल्दैन भनेर गाली गरेको ओहो, मलाई त म बाठी छु, म लाटी हैन, मैले सबै कुरा जानेको छु, किन रिस उठाँउछ भन्दै करायो नि’, टीकाको टाउको सुम्सुम्याउदै शुकरानीले सुनाउनुभयो ।

वर्षौंदेखि एकोहोरिएकी छोरीले आफ्नो गालीको प्रतिवाद गर्दा शुकरानीलाई खुशी लाग्यो । छोरी अब बोल्ने भइ भन्ने लागेको थियो शुकरानीलाई । तर त्यसपछि फेरि टीकाको मुखबाट शब्द निस्किएको छैन ।

टीकासँग कुनै रहर छैन । कसैसँग गुनासो पनि गर्नुहुन्न । दिएको खानुहुन्छ । लगाउनुहुन्छ ।

शुकरानीलाई कहिलेकाहीँ लाग्छ, ‘उसको बाआमा मात्रै भएको भए पनि निको पो हुन्थ्यो कि ।’ दाइभाइले राम्रो कमाइ गरेको भए राम्रो ठाउँमा लगेर उपचार पो गर्थें कि ।

तर घरको परिस्थिति दयनीय छ । बहिनीले राम्रो अस्पतालमा लगेर उपचार गर्न सक्ने अवस्था छैन । दाइ कतारमा ११ वर्षदेखि कोमामा छन् । भाइ मन्दिर ज्यान पाल्न साउदीमा सुखदुःख गर्दैछन् ।

परिवारको अवस्था भताभुङ्ग भएको देख्दा शुकरानीको मन खिन्न छ । मन पछुतोले भरिन्छ र भन्छ ‘विदेश नै नगएको भए त यतै गरिखान्थ्यो होला, दाइ बहिनी सबैसँगै हुन्थे होलान्, यिनीहरुलाई हेर्दा त साह्रै पो मन रुन्छ’, शुकरानी खिन्न मान्दै भन्नुहुन्छ ।

थाहा छैन विदेशमा छँदा के कारणले टीकाको अवस्था यस्तो भयो । तर टीकाको प्रतिक्रिया देख्दा लाग्छ, विदेशले असाध्यै दुःख दिएको छ र त यो अवस्था भयो ।

‘मेरी जेठी छोरी, उनीहरुसँग जाउ ल, मुठा मुठा पैसा कमाएर ल्याउ ल आमालाई’, काकी आमा शुकरानी फकाउँदै टीकालाई भन्नुहुन्छ । तर टीकाले आमाको कुरा नमानेझैँ गरेर निधार खुम्च्याउँदै टाउको हल्लाउनुभयो । प्रस्टै बुझिन्थ्यो टीकाको संकेत नाइ थियो ।

‘लेबनान जाउ, पैसा कमाएर ल्याउ, यसरी बसेर हुन्छ’ सुकरानीले चर्को स्वरमा फेरि भन्नुभयो, ‘तिमीलाई लेबनान लैजाने रे, जाउ ।’ टीकाले उसैगरी टाउको हल्लाउनुभयो । केहीबेर चुपचाप बसेपछि फेरि उसैगरी टोलाउँदै टीकाले खुट्टा हल्लाइरहनुभयो ।

कोमामा उपचाररत नेपाली र परिवारका कथाव्यथाको श्रृंखला ‘आशा र निराशाबीच चलेको सास’ अन्तर्गत यो तेस्रो श्रृङ्खला हो ।

कमेन्ट गर्नुहोस्
Loading...
You might also like
Loading...

Leave A Reply

Your email address will not be published.