४१७ मेगावाटको नलसिंहगाड जलविद्युत परियोजना अघि बढाउन जापान सहमत

९ असोज, काठमाडौं । जाजरकोटमा अवस्थित४ सय १७ मेगावाटको नलसिंहगाड जलविद्युत परियोजना अघि बढ्ने भएको छ ।

जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र जापानी विकास नियोग (जाइका) का कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच बिहिवार भएको भेटवार्तामा उक्त परियोजनालाई अघि बढाउने विषयमा सहमति भएको हो ।

मन्त्री पुनले उक्त परियोजनालाई अघि बढाउने विषयमा बुधवार जापानका संसदीय, परराष्ट्र, उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथामत्स्यपालन राज्यमन्त्री योसिताका ईता र जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्राटिक पार्टीका महामन्त्री तोसिहिरो निकाइसँग छलफल गरेका थिए ।

भेटवार्तामा उर्जामन्त्रालयका सहसचिव तोया अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका उच्च अधिकारी सहभागी थिए ।

उर्जामन्त्री पुनले जाइकाले पीपीपी मोडेलमा उक्त आयोजना अघि बढाउने गरी प्रस्ताव गरेको जानकारी दिए । उनकाअनुसार उक्त परियोजनालाई जाइकाले उच्च प्राथमिकतामा राखेको छ ।

‘जाइकासँगको छलफल अत्यन्तै सकरात्मक भएको छ, डिपिआरको अध्ययनलगत्तै परियोजनालाई अघि बढाउने गरी पहल थाल्ने प्रतिवद्धता जनाउनुभएकोले पनि चाँडै यसले मूर्त रुप पाउनेमा म आशावादी छु,’ मन्त्री पुनले भने ।

त्यसका साथै छलफलको क्रममा जाइकाका उपाध्यक्षको शिकावाले नेपालको उर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिवद्धता समेत जनाए ।

भेटमा मन्त्री पुनले नेपालमा हाल पांच वर्षको लागी स्थायी सरकार रहेको भन्दै थप लगानीका लागी आग्रह गर्नुभयो । उहांले नेपालमा जलविद्युतको बजार समेत सुरक्षित रहेको र नाफा समेत सजिलै लिन सकिने अवस्था सरकारले बनाएको दावी समेत गरे।

मन्त्री पुनले कुलेखानी जलाशययुक्त आयोजना र कन्काई सिँचाइ आयोजनामा जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

आगामी १० वर्षमा नेपालले १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र उत्पादित विजुली बेच्नका लागि भारत र बंगलादेशसंग सम्झौता भइसकेको मन्त्री पुनको भनाई थियो । उनले उत्पादित विजुलीको लागी आन्तरिक र बाहृय बजार बनाउन सरकार सक्षम रहेको धारणा समेत राखे ।

२५ कम्पनीका प्रतिनिधिले पनि भेटे

मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न समेत आग्रह गरे । चार दिने जापान भ्रमणमा रहेका मन्त्री पुनले २५ भन्दा बढी कम्पनीका प्रतिनिधी र १ सय सहभागी भएको अन्र्तक्रिया कार्यक्रममा नेपालको जलविद्युत क्षेत्रमा लगानीको लागी सरकारले उपयुक्त वातावरण बनाएको भन्दै नेपालमा लगानी गर्न आग्रह गरे।

कार्यक्रममा मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपाली लगानीकर्तासरह सुविधा दिने घोषणा समेत गरे।

‘तपाईहरुले नेपालमा लगानी गर्नुभयो भने हामिले नेपाली लगानीकर्तासरह नै सुविधा दिन्छौं । उत्पादित विजुली पनि हामीले नै खरिद गछार्ंै,बजारको पनि चिन्ता नगर्नुहोस्,’ उनले भने ।

मन्त्री पुनले उत्पादकले चाहेमा छिमेकी देशमा बेच्ने वातावरण समेत बनाइदिने प्रतिबद्धता जनाए । अन्तरक्रियामा जापानमा जलविद्युतको क्षेत्रमा काम गरिरहेका तोसिबा, कान्साई, टोकियो ईलेक्ट्रोनिक्स, न्युजेक इलेक्ट्रोनिक्सलगायत कम्पनी सहभागी थिए । कार्यक्रमको संयोजन समेत जाइकाले गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Loading...